बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

बैशाख ३ :  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द भएको छ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई गति दिन आउँदो वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन रोकिएको छ । यसअघि गएको पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा गाडीको आवागमन बन्द गरिएको थियो ।

बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइनेछ ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ ।