४६ जिल्लाका लागि ९५ लाख मत्रपत्र छपाइ कार्य सकियो

बैशाख ५ : यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मत्रपत्र छपाइको काम सकिएको छ।

निर्वाचन आयोगले सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। ‘निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने सूचनाका आधारमा आयोगले विभिन्न दल तथा नेतालाई पत्राचार गरेको र जवाफ आउने क्रम जारी रहेको उनले जानकारी दिए । लेटरप्याड, साइनबोर्ड र छापमा एकरूपता ल्याउन तिनको नमुना ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृत कार्यालयलाई प्रदेश र जिल्ला निर्वाचन कार्यालय माफृत पठाइएको उनले बताए।

उनले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिएर प्रमाणपत्र पनि प्रदान गरिसकेको जानकारी दिए। प्रवक्ता शर्माले आयोगले निर्वाचनसम्बन्धी सूचना दिन यही वैशाख १ गतेबाट हरेक दिन स्थानीय तह इबुलेटिन प्रकाशन गर्न थालिएको जानकारी दिए।