बैशाख ९ : भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवत रूपमा सञ्चालन भएको छ । धावनमार्गमा बिहीबारदेखि नै आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरू गरेको छ । आपत पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यस्तै जेठ २ गतेदेखि कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान भर्ने जनाएको छ ।
प्राधिकरणका अनुसार जजिरा एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जनाएको हो। अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एयरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरूमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको प्राधिकरणले जनाएको छ ।
अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश नफर्काइ भैरहवा पठाइने बताइएको छ ।
४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ। अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।


















