बैशाख १३ : जारी सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८ सय ७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि ५७ देशका ३७ समूहका ३ सय २ जना (७२ महिला र २३० पुरुष)ले अनुमति लिएका छन् । सगरमाथाबाट मात्र सरकारलाई ३७ करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ। आरोहणको लागि अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा (८८८४.८६ मिटर) आरोहणका लागि छन् ।
दोश्रोमा लोत्से (८५१६ मिटर) को लागि ११ समूहका १ सय ३ जना, तेस्रोमा अमादब्लम(६८१४ मिटर)का लागि ९ समूहका ९७ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने कानुनी व्यवस्था छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।


















