बैशाख २१:बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए ।
उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएकोमा करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए ।
तर, बेच्ने बेला आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यामा परेको निजगढ नगरपालिका–९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए ।


















