प्रदेश प्रमुखले फर्काएको गाँजा विधेयक, गण्डकी प्रदेश द्वारा सर्वसम्मत रूपमा पारित

गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देशसहित फिर्ता पठाइएको ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक’ फेरि हूबहू पारित गरेको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकले उक्त विधेयकलाई सर्वसम्मत रूपमा पुनः पारित गरेको हो । प्रदेश सभाले यसअघि पारित गरेर प्रमाणीकरणका लागि पठाएको यो विधेयकलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीय कानुनसँग बाझिएको उल्लेख गर्दै ८ साउनमा ३ वटा सन्देशसहित सदनमै फिर्ता पठाइदिएका थिए । गण्डकी प्रदेश सभाको इतिहासमा विधेयक यसरी फिर्ता भएको यो नै पहिलो घटना थियो ।

उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरेकी थिइन् । विधेयकमाथि सामान्य छलफल भएपछि सभाले यसलाई पुनः सर्वसम्मत रूपमा पारित गर्‍यो ।

छलफलका क्रममा मन्त्री रिमालले संविधानको धारा ३०४ को उपधारा १ लाई उद्धृत गर्दै प्रदेशको एकल अधिकारका विषयमा बाझिएको कानुन संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले १ वर्षपछि स्वतः अमान्य हुने संवैधानिक व्यवस्था रहेकाले यसमा पुनः पुनर्विचार गरिरहनुपर्ने आवश्यकता नरहेको जिकिर गरिन्।