केपि कुमार जलन
नेपाली लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक तथा सर्जक पुष्कल शर्माको नयाँ सांगीतिक कोसेली ‘मै राम्री आहा’ औपचारिक रूपमा सार्वजनिक भएको छ। मन्दिर म्युजिकको प्रस्तुतिमा आएको यस गीतले सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।
गीतमा पुष्कल शर्मा र चर्चित गायिका शान्ता रानी परियारको सुमधुर स्वर रहेको छ। गीतको शब्द तथा संगीत स्वयं पुष्कल शर्माले सिर्जना गरेका हुन् भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन्।
गीतको म्युजिक भिडियोमा पुष्कल शर्मासँगै नारायणी खत्रीको आकर्षक अभिनय देख्न सकिन्छ। **स्मृति तिमिल्सिना ‘गुरुआमा’**को निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोले ग्रामीण परिवेश, प्रेम, सौन्दर्य र नेपाली मौलिक संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
विशेषगरी साउन महिनाको रौनकलाई लक्षित गरी सार्वजनिक गरिएको ‘मै राम्री आहा’ले नेपाली लोकसंगीतप्रेमीको मन छुने विश्वास गरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतको भिडियोले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ भने यसको शब्द, संगीत र भिडियोको प्रस्तुति सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ।
लोकगीतको मौलिक स्वाद र आधुनिक प्रस्तुतिको सन्तुलित संयोजन रहेको ‘मै राम्री आहा’ यस साउनमा लोकसंगीतप्रेमीका लागि अर्को आकर्षक सांगीतिक उपहार बनेको छ।

















