आयल निगम भन्छ ग्यास अभाव छैन, तर बजारमा पाईदैंन !

बैशाख २२ : नेपालमा अप्रिल महिनामा भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट ४७ हजार टन अर्थात् ३३ लाख सिलिन्डर ग्यास भित्रिएको छ । नेपालमा मासिक ३० लाख सिलिन्डर मात्रै खाना पकाउने एलपी ग्यास खपत हुन्छ । निगमको तथ्यांक अनुसार खाना पकाउने ग्यास पर्याप्त भएपनि बजारमा अभाव देखिन्छ ।

निगमले ग्यास अभाव नरहेको दाबी गरे पनि बजारमा ग्यास पाईदैंन । एक महिनाअघि ग्यास उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए । जसका कारण चैत ६ देखि दुई सातासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्यास अभाव देखिएको हो ।

त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्य स्वचालित प्रणालीअनुसार तोक्न वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएपछि ग्यासको मूल्य बढ्ने आकलन गर्दै व्यवसायीले समेत ग्यास लुकाएका छन्, सर्वसाधारणले पनि ग्यास मौज्दात राख्दा बजारमा अभाव चुलिएको हो ।