स्थानीय तह निर्वाचन: ७७ जिल्लामा पुग्यो मतपत्र

बैशाख २४ : स्थानीय तह निर्वाचनका लागि देशभरका ७७ वटै जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगका अनुसार सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको हो ।

आयोगले मतपत्र छपाइ भएको भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो । आयोगले दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ गरेको थियो ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीय तहमा मतपत्र ढुवानी गराउने आयोगले जनाएको छ ।