बैशाख २६ : कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन् । मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन् ।
महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ ।लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउछिन् ।
यसपटक स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार पनि कम छन् । प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरिए पनि कतिपय ठाउँमा दुवै पदमा पुरुष उम्मेदवार छन् । यसले अझ महिलाको नेतृत्वलाई घटाउने जोखिम बढेको महिला मतदाता बताउँछन् ।
महिला दलका घोषणापत्रमा स्वास्थ्य सेवा, शिक्षा, कृषिजस्ता कुरा मात्र समेटिएका गुनासो गर्छन् । राजनीतिक दलले महिलाका सानासाना समस्या समाधानमा ध्यान दिनेखालका घोषणा गरेको देखिँदैन ।
महिलालाई स्वरोजगार बनाउने, रोजगारीमा प्राथमिकता दिनेजस्ता प्रतिबद्धता आउनुपर्ने उनिहरुको भनाई छ ।

















