जेष्ठ १३: सूर्यविनायक नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको सफलतापूर्वक परिक्षण गरिएको छ । आयोजनाको प्रतिनिधि सभाका सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले शुक्रबार संयुक्त रुपमा परिक्षणको शुभारम्भ गरेका हुन् ।
आयोजनाको पानी कटुञ्जे पाण्डूबजार खानेपानीको ट्याङ्कीबाट सूर्यविनायक नगरपालिका भित्र मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याई सकेका क्षेत्रहरु आदर्श, पाण्डूबजार, घलाते, चुनदेवी, सुबर्ण चोक, सल्लाघारीदेखी राधेराधे पुलसम्मका करिब २५ सय घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।
त्यस्तै, भक्तपुर नगरपालिका क्षेत्रका करिव पाँच हजार धाराहरुमा समेत परिक्षणका लागि पानी वितरण गरिएको छ ।
सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट, सिरुटारलगायतका क्षेत्रहरुमा मेलम्ची खानेपानीको डिपीआर अघिल्लो आर्थिक वर्षमै सम्पन्न भइसकेकाले तत्काल मेलम्ची खानेपानीको पाइपलाई विस्तार गरी साविक पुरानै खानेपानीका ट्याङकीहरुमा मेलम्चीको खानेपानी खसाली समग्र सूर्यविनायक भित्र रहेका खानेपानीको समस्या सधैंको लागि अन्त्य गर्ने योजना छ ।
आयोजनाका निमित्त प्रमुख चेतबहादुर ऐरले २० लाखको पुरानो ट्याङ्की र ६० लाखको नयाँ ट्याङ्की गरी ८० लाख लिटरको दुई वटा ट्याङ्की रहेको र उक्त दुवै ट्याङ्की करिव तीन घण्टामा भरिने बताए ।
मेलम्ची खानेपानीको सफलतापूर्वक परिक्षण सम्पन्न भएसँगै आगामी दिनमा भक्तपुर जिल्ला भरका सम्पूर्ण नागरिकले खानेपानीको समस्या अन्त्य हुने विश्वास लिइएको छ । आयोजना प्रमुख ऐरले जनताको माग अनुसार पानी वितरण गर्न सकिने जानकारी दिए ।
कार्यक्रममा सांसद बस्नेत, नगरप्रमुख थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १० का शिवराम राउत, स्थानीय जनप्रतिनिधि, आयोजनाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।


















