जेष्ठ १५ः सरकारले आगामी वर्षदेखि २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९ र ८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने घोषणा गरेका हुन् ।
उनले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताए ।
त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरे । यस्तै ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले भने, ‘हाल ७० वर्षमाथिको ज्येष्ठ नागरिक समूहलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता अब ६८ वर्षमा उपलब्ध गराइने व्यवस्था गरिएको छ। सामाजिक सुरक्षाभत्ता नलिन स्वघोषणा गर्नेहरुलाई सरकारले सम्मान गर्नेछ।’


















