विमान दुर्घटना : २२ जनामध्ये १० जनाको शव काठमाडौं ल्याईयो

जेष्ठ १७ः मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा हिजो आइतवार भएको तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ ।

२२ जना सवार दुर्घटनामा परेको विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाण्डौ ल्याइएको छ । प्रतिकूल मौसमका कारण अर्का एक जनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार दश जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर पोखराबाट काठमाण्डौ आइपुगेको हो । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेको छ ।

भेटिएका शव सनाखत गर्न बाँकी छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि पोखरा ल्याइने उद्धार टोलीले जनाएको छ ।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एअरको ९ एनएइटी कलसाइन भएको विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो ।