आन्तरिक उडान गर्न मौसमबारे जानकारीको अभाव, बिरामी बोकेका हेलिकप्टर समेत प्रभावित

जेठ २० : मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने नियम लागू भएसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी समयमै उपलब्ध नहुँदा त्यस्ता ठाउँको उडान प्रभावित हुन थालेको हो ।

भनेकै समयमा मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार यति एयरलाइन्सका १० वटा उडान रद्द भएका छन् । काठमाडौँबाट बिरामी बोकेर ओखलढुङ्गा र पोखरा जानुपर्ने हेलिकप्टरले समेत उडान भर्न पाएनन् ।

प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्ध र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।