जेष्ठ २०ः जबर्जस्ती करणीका आरोपी अभिनेता पल शाहले अब फैसला कुर्ने भएका छन् ।
पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उच्च अदालत पोखराले पनि सदर गरेपछि उनले फैसला कुर्न परेको हो।
जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जान सकिने व्यवस्था रहे पनि समय लाग्ने भएपछि अब फैसला नै कुर्ने निर्णय भएको शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले बताउछन्।
‘सर्वोच्च अदालत जाँदा त्यहाँ धेरै समय लाग्ने देखियो । फेरी सर्वोच्चमा हालेपछि जिल्लाको फैसला पनि अड्किन्छ । त्यसैले हामी फैसलामै केन्द्रित हुने तयारीमा छौँ,’ कानून व्यवसायी वाग्लेले भने ।
एक नाबालिग गायिकाले बलात्कारको आरोप लगाएपछि गत फागुन १५ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएका शाहलाई त्यहाँको जिल्ला अदालतले चैत ११ गते मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
पीडित भनिएकी नाबालिगले पूर्वी नवलपरासी प्रहरीमा पनि जाहेरी दिएकामा त्यहाँको अदालतले पनि शाहलाई थुनामा पठाउने आदेश गरेको थियो । दुवै अदालतमा पीडित र जाहेरवालाले बयान फेरेपछि शाह छुट्न सक्नेमा उनका कानून व्यवसायीहरू आशावादी देखिएका थिए ।
पलशाह बिरुद्ध तनहुँ जिल्ला अदालत र पूर्वी नवलपरासी जिल्ला अदालतमा छुट्टाछुट्टै सुनुवाइ हुने बताए । दुवै घटनामा सरकारी वकिलले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गरेका छन् ।










