जेष्ठ २०: नेपाललाई जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस जेष्ठ २१ को अवसरमा राजधानीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र दलित नागरिक समाजद्वारा आयोजित छुवाछूत मुक्त राष्ट्र घोषणाको १६ वर्ष, कार्यान्वयनको अवस्था, उपलब्धि र चुनौती विषयमा उक्त कार्यक्रममा छलफल भएको हो ।
उक्त
छलफलमा अधिवक्ता प्रकाश नेपालीले जेष्ठ २१ को सन्दर्भ दलित मानव अधिकारको अवस्था र मानव अधिकारकर्मी भिम परियारले जातीय भेदभाव तथा छुवाछूत विरुद्ध नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु कार्यान्वयनको अवस्था बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । सोहीँ दिनलाई अवसर पार्दै प्रत्येक वर्ष दलित संघ संस्था र नेपाल सरकारले जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउदै आएको छ।
तथापी हालसम्म उक्त छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १६ वर्ष बितिसक्दा समेत परिणाम खासै उपलब्धिमुलक हुन नसकेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुको भनार्ई छ । २१औ शताब्दिमा आईपुग्दा समेत दलित समुदायको नेतृत्व स्विकार गर्न नसक्नु , शासन सत्ता, राज्यको निर्णायक तहमा सहभागिता हुन बाट बन्चित बनाउने जस्ता गतिबिधि गरेको भन्दै आक्रोस पोखेका हुन ।
जातीय भेदभाव तथा छुवाछूत विरुद्ध नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु नामक तीन पेज लामो कार्यपत्र प्रस्तुत गर्दै दलित अधिकारकर्मी भिम परियारले राज्यले ६५ लाख दलित समुदायको मुद्धालाई बे(वास्ता गर्दै राज्यको निर्णायक तहमा पुग्नबाट बन्चित गरेको भन्दै दुखेसो पोखेका छन।










