जेठ २२ : विश्वका विभिन्न देशमा मंकीपक्सका बिरामी धमाधम भेटिन थालेका छन् । पछिल्लो पटक उत्तर अफ्रिकी मुलुक मोरक्कोले आफ्नो मुलुकमा मङ्कीपक्स भाइरसको संक्रमण फेला परेको पुष्टि गरेको छ। यससँगै मङ्कीपक्स भाइरसको संक्रमण पुष्टि भएका मुलुकको संख्या ३० नाघेको छ।
मोरक्कोसँगै बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड्स, स्वीवेडन, स्पेन, फ्रान्स, जर्मनी, इटालीजस्ता मुलुकमा पङ्कीपक्स भाइरसको संक्रमण फेला परिसकेको छ। बेलायतमा मात्रै २०० जनाको हाराहारीमा मानिस यो भाइरसबाट संक्रमित भएका छन्।
पछिल्लो पटक देखा परेको मङ्कीपक्सको प्रकोप सामान्य भएको र यसबाट आम नागरिकमा न्यून मात्र जोखिम रहेको बताइएको छ। कुनै यात्रा नगरेका मानिसमा पनि भाइरसको संक्रमण देखिनुले यो भाइरस समुदायमै फैलिसकेको पुष्टि भएको बीबीसीले जनाएको छ।
यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिन्छ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका उच्च अधिकारीले संक्रमण देखिएका मुलुकमा थप फैलिन नदिन र नदेखिएका मुलुकमा प्रवेश गर्न नदिनेगरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।











