जेष्ठ २३ः नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब करिब पक्का भएको छ ।

हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने कुरा निचोडमा पुगेको हो। केही दिन अघि मात्र इन्भेष्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुङ्गो लगाइएको थियो ।
उक्त सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैंकको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको स्रोतले बताएको छ ।
यी दुई बैंक बीचमा मर्जर सफल भएको खण्डमा संचालनमा आएका बैंकहरु मध्येमा हालसम्मकै ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । जुन हाल वाणिज्य बैङ्कहरू मध्येकै ठूलो बैंक ‘ग्लोबल आईएमई बैंकको भन्दा ८ अर्बभन्दा बढी चुक्ता पुँजी पुग्नेछ ।
मर्जरका लागि दुवै बैंकको सञ्चालक समितिले अबको दुई हप्ताभित्रै सम्झौता गर्ने तयारी गरेको छ ।यद्यपि, मर्जरपछि बन्ने बैंकको नाम भने अहिले नै यकिन भइसकेको छैन । दुवै बैंकले आ–आफ्नो नामको अस्तित्व खोजेको बुझिएको छ ।















