म्याग्दीको दर्बाङ स्थित नदी नियन्त्रणमा बदमासी

जेठ २३ : मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा गुणस्तरबिहिन काम भएको छ।

म्याग्दीको दरबाङ नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माणका क्रममा कमसल निर्माण सामग्रीको प्रयोग गरेको भेटिएको छ। डिजाइन र लागत अनुमानअनुसार गिट्टी, बालुवा र सिमेन्ट राखेर पर्खाल बनाउने सम्झौता विपरित ठुला आकारका ढुङ्गा राखेर ढलान गरिएको स्थानीय नेता सन्तोष सुवेदीले बताएका छन ।

जेठ २१ गते रातिको समयमा ढलान गरिएका थियो सो ठाँउमा फर्मा निकालेपछि हेर्न जाँदा गिट्टीको ठाउँमा ठुला ढुङ्गा हालेकाले पर्खालमा ठुलाठूला प्वालै प्वाल परेको भेटियो सुवेदीको भनाई छ ।

निवर्तमान वडाध्यक्ष समेत रहेका सन्तोष सुवेदीले पर्खाल निर्माणमा बदमासी गर्न खोजिएकाले छानविन गरेर गुणस्तर परीक्षण र पुनःनिर्माण गर्नुपर्ने बताएका छन ।

सामाजीक संजाल मार्फत फेशबुक लाईभ गर्दै सुवेदीले त्यहाँ गुणस्तरहीन काम भएको बारे बोलेका थिए , दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन गाउँपालिकाको रु एक करोडभन्दा बढी लगानीमा दुई प्याकेजमा पक्की पर्खाल निर्माण भइरहेको छ, गत वर्ष हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्सनले ठेक्का लिएको पर्खाल निर्माणमा बदमासी भएको स्थानीयवासीले बताएका छन्।

सो कम्पनीले ४२ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न गत वर्ष रु ५६ लाखमा ठेक्का लिएको थियो। गत असार १ गते म्याग्दी नदीमा बाढी आएपछि पर्खाल निर्माणको काम रोकिएकाले यसपाली पूर्णता दिन ठेक्काको म्याद थपिएको हो।

यस वर्ष विनियोजन भएको रु एक करोड बजेटको काम प्रतिस्पर्धामार्फत कार्यशक्ति कन्ट्रक्सन काठमाडौले रु ६४ लाखमा ठेक्का लिएको थियो। सो ठेक्काअन्तरगत ५६ मिटर लामो र सात मिटर पक्की पर्खाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।