निरन्तर ओरालो यात्रामा नेप्से परिसूचक

जेठ २३ : हाल ‘वियरिस ट्रेन्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।

यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको देखिन्छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ अङ्कले ओरालो लागेर दुई हजार ६५.८२ अङ्कमा ओर्लिएको छ। त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१२ अङ्कले ओरालो लागेर ४००.३६ अंकमा ओर्लिएको छ।

नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ। कूल २२८ कम्पनीको ४४ लाख नौ हजार ६९१ कित्ता शेयर रु एक अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।

बैंकिङ १९.०४, व्यापार ०.१२, होटल तथा पर्यटन १.२४, जलविद्युत् ४.९९, निर्जीवन बीमा ४९.५४, जीवन बीमा १९८.३२ र लगानी ०.२१ अङ्कले ओरालो लागेको छ। त्यस्तै, विकास बैंक ११.९३, वित्त ३.३, उत्पादन २१.०९, अन्य १.५९, लघुवित्त २२.६ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ। सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४१ अर्ब १४ करोड १३ लाख १७ हजार ६१९ बराबर पुगेको छ।