जेठ २९ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेका छन्।
जजिरा एअरलाईन्सबाट आज बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो।
भन्सार कार्यालयले उनीहरूले पाइन्टको भित्री भागमा लुकाएको २६० ग्राम सुन बरामद गरेको जनाएको छ ।
प्रारम्भिक बयानमा तीनै जनाले अन्य व्यक्तिले एक एकवटा पाइन्ट दिएको र नेपालमा ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम दिने आशा देखाएको बताएका छन्।
आइतबार सुनको मूल्य तोलाको ९२ हजार एक सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १२ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय सुन कारोवारमा सरकारले कडाई गर्दै आईरहेको छ ।











