शिक्षा नीति कार्यान्वयन गराउन संसदीय समितिलाई अनुरोध

जेठ २९ गते, काठमाडौं । नेपाल सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ को बुदा नं १०.२४.३ मा नेपालको आफ्नै मौलिक कला र संस्कृतिलाई समेटेर विशिष्टतामा आधारित कला तथा संस्कृति विश्वविध्यालय स्थापना गर्ने विषय उल्लेख भएता पनि हालसम्म यस संवन्धमा कुनै कामकारवाही अघि बढेको छैन।

त्यस्तै राष्ट्रिय संस्कृति नीति, २०६८ ले नेपालमा विद्यमान मूर्त र अमूर्त दुवै प्रकारका राष्ट्रिय साँस्कृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान गरी तिनीहरूको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी राष्ट्रिय गौरवको जगेर्ना गर्दै समाजमा सद्भाव र सहिष्णुताको भावना जागृत गराई एक अर्कामा सम्मान एवं सामाजिक मर्यादा अभिवृध्दि गरी देशलाई एकताको सूत्रमा गाँस्ने उद्देश्य लिएको भएता पनि हालसम्म यसको कार्यान्वयनको लागि ठोस कार्यक्रम बनेको पाईदैन।

यसै सन्दर्भमा यस विषयमा अध्यापनरत तथा यस क्षेत्रमा क्रियाशील केही व्यक्तिहरु मिली राष्ट्रिय शिक्षा नीतिको प्राव्धान अनुसार रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालय स्थापना गर्नका लागि पैरवी गर्न नेपाल सरकारका पुर्व सचिव डा। मान बहादुर बीकेको संयोजकत्वमा एक समिति बनाई काम गरिरहेको छ।

सो सम्बन्धमा विभिन्न सरोकारवालाहरु संग विभिन्न चरणमा छलफल गरी विश्वविध्यालय स्थापनाका लागि आशयपत्र र प्रस्ताव तैयार गरी शिक्षा मन्त्री देवेन्द्र पौडेल, संस्कृति मन्त्री  प्रेम बहादुर आले, युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राज्य मन्त्री उमेश श्रेष्ठ, शिक्षा राज्य मन्त्री बोधमाया कुमारी यादव र मुख्य सचिव  शंकर दास बैरागीलाई मिति २०७८ फागुन ५ र १० गते दुई चरणमा हस्तान्तरण गरिएको भएता पनि हालसम्म त्यस संवन्धी कुनै कामकारवाही संवन्धित मंत्रालयबाट अघि बढेको जानकारी प्राप्त भएको छैन।

त्यसै सन्दर्भमा आज संयोजक डा.मान बहादुर बीकेको नेतृत्वमा सुनचादी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्य, डा गोविन्द नेपाली, डा.लिला न्याईच्याई र चक्रमान विश्वकर्माको एक टोलीले प्रतिनिधी सभाको शिक्षा तथा स्वास्थ्य समितिकि सभापति जय पुरी घर्तीलाई एक अनुरोधपत्र बुझाइयो।

सो सम्बन्धमा सभापति घर्तीले यो विषय मुलुकको मौलिक पहिचानसंग गासिएको विषय भएकोले आफ्नो तर्फबाट उच्चतम पहल हुने बताउनु भयो। वहाँले प्रतिनिधी सभामा बजेट छलफल सकिदा बित्तिकै संवन्धित पदाधिकारीलाई बोलाई समितिको छलफल गरी नेपाल सरकारलाई आवश्यक निर्देशन दिइने कुराको आश्वस्थ पार्नु भयो।

यसै सन्दर्भमा संघीय संसदका सांसदहरु र सम्बन्धीत क्षेत्रका नागरिक समाजका अगुवाहरुसंग मिति २०७८ चैत्र १७ गते एक परामर्श संवाद कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा सांसदहरुले आत्मनिर्भर अर्थतंत्र निर्माण गर्दै मुलुकको राष्ट्रिय पहिचानलाई अन्तराष्ट्रियरुपमा अभिवृध्दि गर्न महत्वपूर्ण योगदान रहने हुदा नेपाल सरकारले नीतिगत रुपमा घोषणा गरिसकेको विषय भएकोले तयारी समितिलाई रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालय स्थापनाको कार्य अगाडि बढाउन सुझाव दिएका थिए।

उक्त कार्यक्रममा यो बारेमा सम्बन्धीत संसदीय समितिमा जानकारी गराउदा त्यहाँबाट नेपाल सरकारलाई आवश्यक निर्देशन हुनसक्ने सुझाव समेत प्राप्त भएको आधारमा आज यो अनुरोधपत्र सभापतिलाई बुझाइएको कुरा संयोजक डा. मान बहादुर बीकेले बताउनु भयो।