सवारी दुर्घटनामा परेर चालकको मृत्यु

जेठ ३०ः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका– १५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ।

आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–०० १ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।

ठक्करबाट सख्त घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते भएको र उनको उपचार भइरहेको छ। अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।