जेठ ३१ः जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। उक्त प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताएका छन।
उनका अनुसार , ‘मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा डोटीमा निकै समस्या भएको थियो, अब अस्पतालमै अक्सिजन प्लान्ट जडान भएको छ । बिरामीलाई सहज हुने छ।
गत आर्थिक वर्षमै जडान हुनुपर्ने भए पनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानका लागि ८० लाख बजेट छुट्याइएको भए पनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ। अक्सिजन प्लान्ट स्थापनासँगै अब अस्पतालमै अक्सिजन उत्पादन हुने छ ।
उक्त प्लान्ट २४ घण्टामा १४ किलोका १० वटा सिलिण्डर भर्न सक्ने क्षमताको रहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए। उनका अनुसार केही दिनभित्रमै अस्पतालका २५ बेडमा सिधा अक्सिजन आपूर्ति गरिने छ।









