जेष्ठ ३१ः त्रिभुवन चन्द्र बहुमुखी क्याम्पस (त्रि–चन्द्र) को पुनर्निर्माण गर्न गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
आज
मङ्गलवार कलेज अगाडि विद्यार्थीहरूले क्याम्पसको पुनर्निर्माण गर्न माग गर्दै सडकमै पढेर विरोध जनाएका हुन् । क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन्।
कलेजमा अध्ययनरत विद्यार्थीहरू भवन कुन बेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरूको भनाई छ । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीहरूको सङ्ख्या बढिरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको उनीहरूको गुनासो छ ।

सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको आरोप लगाएका छन । उनीहरूले नजिकै रहेको धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद रहेको बताए ।
विद्यार्थीहरूले भ्यु टावर बन्ने त्रिचन्द्र चाहिँ नबन्ने ?, प्रधानमन्त्रीज्यू तपाईँ पढेको कलेज कहिले बन्ने ? इतिहास ढल्दैछ सरकार मौन छु, शिक्षा मन्त्रालय हराएको सूचनाु लेखिएको जस्ता प्ले कार्ड बोकेका थिए ।









