असार ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुवात गर्ने र डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना बनाउने काम अगाडि बढाएको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताए । विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी तथा समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा उनको जोड थियो ।
सुदूरपश्चिम विश्वविद्यालयले नागरिकको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी देशको खाँचो पूरा गर्न सहयोग पुर्याएको धारणा राखे ।


















