टिम वर्क मिडिया प्रालिद्वारा प्रकाशित सन्दर्भ टुडे अन्लाईन पत्रिकाको आज औपचारिक रूपमा उद्घाटन भएको छ । ललितपुरको कुपोन्डोलस्थित दलित महिला संघ (फेडो) को हलमा संबिधान दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा अन्लाईन पत्रिकाको उद्घाटन गरिएको थियो । पत्रिकाउद्घाटन दलित समुदायको पहिलो सचिव, बागमती प्रदेशका पुर्व मुख्यसचिव तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि डा.मान बहादुर विश्वकर्मा, कार्यक्रमका बिशेष अतिथिहरु जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य तथा सामाजिक अभियान्ता कमला हेम्चुरी,पुर्व डिएसपी गोपाल प्रसाद विश्वकर्मा र नेपाल घरेलु तथा साना उद्योग महासंघ ललितपुरका अध्यक्ष शैलेन्द्र श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.विश्वकर्माले पत्रकारिता क्षेत्रमा दलितको सहभागिता औंलामा गन्न सकिने अवस्थामा दलित समुदायको तर्फबाट प्रकाशन गृह र नयाँ प्रबिधिको सदुपयोग गर्दै सुरु गरिएको उक्त अन्लाईन पत्रिकाले आगामी दिनहरूमा सफलता हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट सकेको सहयोग हुने बताउनु भयो । अहिलेको प्रतिस्पर्धाको जमानामा कडा मिहिनेत र परिश्रम गर्न आवश्यक भएको बताउदै उहाँले संचार क्षेत्रमा निष्पक्ष र सक्रिय भइ सत्यतथ्य समाचार सम्पेषण गर्न सुझाव दिनु भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथिहरु कमला हेम्चुरी,गोपाल प्रसाद विश्वकर्मा र शैलेन्द्र श्रेष्ठले अन्लाईन पत्रिकाको सफलताको कामना गर्दै सक्रिय भएर लागि पर्न सबैलाई अनुरोध गर्दै सामुहिक अवधारणाका आधारमा अधि बढ्न सुझाव दिनुका साथै आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्द्ता जनाउनु भएको थियो ।

यसका सन्दर्भ टुडे अन्लाईन पत्रिकाको सल्लाहकारहरुमा दुर्गा सोव, डा.मान बहादुर विश्वकर्मा,डा.मुक्ति रिजाल, सुनी लामा र कानुनी सल्लाहकारमा अधिवक्ता सुन्दर सेनि रहेको र प्रबन्ध निर्देशकमा लक्ष्मी सेन्चुरी तथा सम्पादकमा रणबहादुर रम्तेल रहेको सम्पादक रम्तेलले जानकारी दिनु भयो । साथै सम्पादक रम्तेलले सबैबाट सत्यतथ्य समाचार, लेख रचना र बिज्ञापन उपलब्ध गराइ सहयोग गरि दिन आग्रह गर्नु भएको छ ।