दमौली कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।
कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार व्यास नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ । “कुकुर पाल्ने र बीचमा जथाभावी छाडिदिने समस्या व्यापक छ, त्यसले गर्दा सडकमा दुर्घटनाको जोखिम पनि बढाएको छ,” उहाँले भन्नुभयो, “त्यसो गर्दा रेबिजको जोखिम पनि उत्तिकै बढ्छ ।”