६ महिनाभित्र नागरिकलाई निशुल्क खोप लगाइसक्ने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ कार्तिक १०

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो ।

आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेकोले खोपको कुनै कमी हुन नदिन र लक्ष्य केन्द्रित भएर काम गर्न सबैलाई आग्रह गर्नुभएको हो।

खोपको अभाव भएमा दाताहरुसँग त्यहीअनुसार माग गर्न वा सरकारले नै खरिद गर्न सक्ने भन्दै सबै नागरिकलाई निशुल्क खोप वितरणमा जोड दिन प्रधानमन्त्रीले निर्देशण दिनुभएका छ ।

प्रधानमन्त्री देउवाले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन गरेका हुन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत् प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

केन्द्रको पहिलो बैठकले केन्द्रको जनशक्ति व्यवस्थापन र संगठन संरचनासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा हाल कोरोना संक्रमणको अवस्था, चाडबाडको बेलामा संक्रमणमा भएको घटबढ, नेपाल र अन्य देशहरुमा संक्रमणको अवस्था, जोखिमहरु र खोप आयात तथा खोप व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा पाएका छन् भने २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् ।