काठमाण्डौं कार्तिक १४
चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाइ गर्नमा ध्यान नदिएको भन्दै जनकपुरका स्थानीय जनप्रतिनिधिहरूले मेयरको घरअघि फोहर थुपार्दै विरोध प्रदर्शन गरेका छन् ।
मेयर लालकिशोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरूले फोहर थुपारेर विरोध गरेका हुन् । उनीहरूले मेयर साहलाई पटक–पटक फोहर व्यवस्थापनको लागि आग्रह गर्दा समेत कुनै चासो नदिएकोले मेयरको घर अगाडी फोहोर थुपारेर प्रदर्शन गरेको बताइका छन ।
दीपावली नजिकिँदै गर्दा पनि फोहर व्यवस्थापनमा चासो नदेखाएको भन्दै केही वडाध्यक्षहरूले मेयर साहलाई कालोमोसो दल्ने चेतावनीसमेत दिएका छन् ।
वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहर व्यवस्थापनमा मेयर साहले बेवास्ता गरेको भन्दै उहाँलाई कालोमासो दल्ने चेतावनी दिनुभयो ।
वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साह, वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहलगायतले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।
वडाध्यक्ष साहले भन्नुभयो, ‘हामीले यो भन्दा पहिला पनि धेरै पटक फोहर व्यवस्थापन हुनुपर्छ भनेका थियौँ तर मेयरले फोहर व्यवस्थापनका लागि कुनै चासो नै देखाउनु भएन । नागरिकलाई उहाँले बेवास्ता गर्नुभयो, उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहर व्यवस्थापनलाई उहाँले वास्ता नै गर्नुभएन ।
फोहोर व्यवस्थापन हुनुपर्छ भनेर ल्यान्डफिल साइट बनाउनुपर्छ भन्दै आएका छौँ, तपाईँले नसके हामी वडाध्यक्षहरूको समूह बनाएर काम गर्छौँ भन्दा पनि उहाँले मान्नुभएन ।
प्रहरीले मेयर साहको घर अगाडि फोहर फाल्न नदिएपछि उनीहरूले उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर धर्नामा बसेका थिए । जनकपुरधाम उपमहानगरभित्रका विभिन्न वडामा थुपारिएको फोहर व्यवस्थापनमा असहयोग गरेको भन्दै मेयर साहप्रति जनप्रतिनिधिहरू पनि आक्रोशित बनेका छन् ।