कसरि ठोक्किन पुग्यो नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग

काठमाण्डौं , कार्तिक १६ :  नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किए दुर्घटना भएको छ ।

मंगलबार बिहान नेपालगंजबाट हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । दुर्घटनामा मानवीय क्षति भने केहि भएको छैन ।

सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेको स्रोतको भनाई छ । १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ ।

अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ ।

सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकहरुको टोली जहाज मर्मतका लागि पठाएको जानकारी दिए ।

नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोक्किने घटना भएका छन् ।