एमाले अधिवेशन सम्पन्न नेतृत्वमा महिला र दलितको सहभागीता शून्य

काठमाडौं,कार्तिक २२ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

६ वटा गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितलाई भने नेतृत्व दिइएका छैन ।

यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको स्रोतको जानकारि छ ।
पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए ।

उनका अनुसार “अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ ।”

हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन , पुर्चौडी र मैलौली नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन् ।

यस्तै दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन् ।

यसैबीच जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कार्तिक २७ गते गर्ने छ । प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशन पछि हुने जनाइएको छ ।