कार्तिक, २३: हास्य कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताएका छन । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको बताए ।
‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन ।
यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला’ जितुले भने, ‘म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ ।
मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु हुँदैन ।’
महानायक विवादका कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट निर्देशक दीपाश्री निरौला बाहिरिएसँगै जीतु र ‘छक्का पञ्जा’ टिमबीच मनमुटाव बढेको हो ।
तर, सार्वजनिक कार्यक्रममा भने उनीहरुले आफ्नो सम्बन्ध राम्रो रहेको सन्देश दिदै आएका थिए ।
व्यक्तिगत रुपमा सम्बन्ध राम्रो भएपछि व्यावसायिक सम्बन्ध बिग्रिएको अनुमान यो ‘छक्का पञ्जा ४’को ट्रेलरबाट समेत लगाउन सकिन्छ ।