गृहमन्त्री खाँणले गरे सुरक्षा निकायले गरेको कामको प्रशंसा

कार्तिक,२३: गृहमन्त्री बालकृष्ण खाँणले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि जोखिमको प्रर्वाह नगरि सुरक्षा निकायले गरेको कामको प्रशंसा गर्दै अपराध नियन्त्रण तथा अनुसन्धान लगायत सुरक्षा सम्बन्धि सबै काम उत्कृष्ट रहेको दाबी गरेका छन्।

सोमबार धनुषाको जनकपुरधाममा  २ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा बोल्दै उनले सीमामा हुने विभिन्न अपराध तथा अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न संवेदनशील हुन सुरक्षा निकायहरुलाई निर्देशन समेत दिए।

नेपाल सरकार गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा संयुक्त रुपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गरी सुरक्षा निकायले सराहनीय काम गरेको उल्लेख गर्दै सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको वताए ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो प्रस्तुतीकरण गर्दै समग्र नेपाल प्रहरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत अपराध अनुसन्धान तथा रोकथाम, अपराधको समग्र तथ्याङ्क विश्लेषण, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या र जनलक्षित सचेतनामूलक कार्यक्रम एवं त्यसको प्रभावकारिताको बारेमा जानकारी दिएका थिए ।