काठमाण्डौ, ३० कार्तिक : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीका इन्स्पेक्टरका भाइ पनि फरार सूचीमा रहेको खुलेको छ ।
रहस्यमय बन्दै गएको भुपेन्द्र हत्याकाण्डमा हाल सम्म हत्याको कारण यहि भनेर पुष्टि गर्न सकेको छैन । हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ ।
अन्य फरार छन् । फरारको संख्या दिन प्रहरीले अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले भने,“अनुसन्धानमै रहेकाले संख्या भन्न मिल्दैन । घटनामा एकभन्दा बढीको संलग्नता देखिएको छ । मिडियामा भन्न मिल्ने कुरा अहिले छैन ।”
गतसाता टीकापुरमा भुपेन्द्रको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ ।
नवीन हाल फरार छन् । नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
नवीनसँगै अरु पनि फरार छन् । फरार सूचीमा मदन शाही पनि छन् । मदन शाही प्रहरी इन्स्पेक्टरका भाइ रहेको खुलेको छ । प्रवक्ता विष्टलाई यसबारे बुझ्दा उनले भने,“मैले पनि एकजना इन्स्पेक्टरका भाइ फरार छन् भन्ने सुनेको हुँ ।”
उनले इन्स्पेक्टरको नामबारे आफूलाई जानकारी नभएको पनि बताए । तर स्रोतका अनुसार घटनामा एकजना डीएसपीका काका का छोरा पनि फरार छन् ।
प्रहरी स्रोतले मदन शाही प्रहरी इन्स्पेक्टरका भाइ भएको पुष्टि गरेको छ ।
हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परिसकेका छन् ।
यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, बस्ने २६ वर्षीय सोहन शाह र लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का पक्राउ परेका छन् ।
प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रबाट आफूहरुको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुनसक्ने प्रहरी आशंका छ ।