पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग

काठमाडौं , मंसिर  १ : गण्डकी प्रदेश सरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारसँग माग गरेको छ ।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले पोखरालाई केन्द्रीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भन्दै मुख्य पर्यटकीय केन्द्र घोषणा गर्न माग गरेको हो ।

सरकारका प्रवक्ता कुमार खड्काले देशको पर्यटकीय राजधानी बन्छ भन्ने मापदण्ड बनाउन र यसको इन्डिकेटर बनाउनका लागि प्रदेशको उद्योग पर्यटन मन्त्रालयलाई प्रदेश सरकारले जिम्मा दिएको समेत जानकारी दिनुभयो ।

नेपाल आएका पर्यटक मध्ये ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउने गरेको उहाँको भनाइ थियो । त्यसैगरी प्रदेश सरकारले आर्थिक सहायता सम्बन्धी कार्यविधि पनि पारित गरेको मन्त्री खड्काले जानकारी दिनुभयो ।

अत्यन्तै सुन्दर पोखारालाई पयर्टकीय राजधानी घोषणा गर्न सकेको खण्डमा समग्र देशको प्रगतिले उचाई लिने उहाँको भनाई छ ।