विश्व भरि फैलिएको कोरोना महामारी विरूद्धको फाइजर खोप १२ वर्षमाथि उमेर समूहकाले समेत पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अमेरिकी सरकारले प्रदान गरेको फाइजर खोप दीर्घरोगीलाई मात्रै लगाईंदै आएकोमा हिजोदेखि १२ वर्ष उमेरभन्दा माथिका समूहले पनि पाएका हुन् ।
हालसम्म उमेर समुह छुटटाएर खोप दिदै आएको नेपालमा अब भने अमेरिकाबाट प्राप्त एक लाख ६ सय २० मात्रा फाइजर खोप प्रारम्भमा अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई मात्र लगाइने भनिएको थियो । गत साता उनीहरुलई मात्र लगाइएको थियो ।
तर फाइजर खोप १८ वर्ष मुनिका बालबालिकालाई समेत लगाउन शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार दीर्घरोगीलाई लगाइसकेपछि पनि खोप बाँकी भएकाले अन्य उमेर समूहकालाई दिइएको हो ।
पहिलो चरणमा प्राप्त फाइजर खोप हिजोसम्म लगाउने तालिका बनाइएको थियो । तर दीर्घरोगीलाई लगाएपछि पनि खोप बाँकी रहेकाले यसलाई निरन्तरता दिइएको मन्त्रालयले बताएको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले उक्त खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा ९५ प्रतिशत प्रभावकारी रहेको बताउँदै आएको छ ।