एमाले महाधिवेशनः असर बुटवलबाट काठमाडौँ जाँदा पोखरा पुग्नुपर्ने

काठमाण्डौं मंसिर ९ : नवलपुर  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी ९ बर्दघाट–सुस्तापूर्व० र नवलपरासी ( बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि)  राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मनमाया भट्टराई पङ्गेनीले बताइन्।

साँघुरो र उकालो(ओरोलो सडक रहेको दाउन्नेमा मालबहाक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाएको सीडीओ पङ्गेनीले बताइन् ।

सो खण्डमा जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै चितवन जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ ।

‘दाउन्ने सडकको अवस्थाका कारण मालबहाक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ’ सीडीओ पङ्गेनीले भनिन्, ‘बुटवल हुँदै काठमाडौँ जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।’

अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको सीडीओ पङ्गेनीले बताइन् । पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ ।

आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको सीडीओ पङ्गेनीले बताइन् ।