सर्वसम्मत नहुने भएपछि ओलीले गरे अध्यक्षमा उम्मेदवारी दर्ता

१३ मंसिर २०७८

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीको १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने धोको अपुरै रह्यो । पार्टी उपाध्यक्ष भीम रावलाई मनाउन नसक्दा ओलीले सर्वसम्मत रुपमा आफुलाई पुनः अध्यक्ष बनाउन सकेनन् ।

ओलीले फेरी अध्यक्ष बन्न महाधिवेशनको निर्वाचन प्रक्रियामा जानै पर्ने भएपछि आज बिहान उम्मेदवारी दर्ता गरेका छन् ।

ओलीले आइतबार राति सर्वसम्मत नेतृत्व चयनका लागि बन्दसत्रमा आफुलाइृ अध्यक्ष राखेर अन्य पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई भीम रावलले ठाडै अस्विकार गरेपछि अध्यक्ष पदमा निर्वाचन गर्नु परेको हो ।

ओलीको उम्मेदवारी दर्तामा विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन् । ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव बनाउने प्रस्ताव गरेका छन् ।

यसअघि पार्टी उपाध्यक्ष रहेका रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।