पौस ११: प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु तथा उनीहरूले विगतमा गरेका कार्य र योगदानप्रति कृतज्ञता व्यक्त गर्नु हामी सबैको कर्तव्य भएको बताउनुभएको छ ।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस दिवसले समाजमा ज्येष्ठ नागरिकप्रति आदर, सद्भाव र सम्मान वृद्धि गरी उहाँहरूको सुरक्षित र मर्यादित जीवनयापनमा जोड दिन हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विसं २०५१ देखि पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिए पनि सरकारको निर्णयानुसार पहिलोपटक देशव्यापीरूपमा ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।
ज्येष्ठ नागरिक जुनसुकै समाजका अग्रणी व्यक्तित्व र महत्वपूर्ण सामाजिक धरोहर हुन् भन्नुहुँदै प्रधानमन्त्री देउवाले उनीहरु महत्वपूर्ण ज्ञान, सीप र अनुभवका भण्डार तथा शिष्टता, सदाचार र संस्कृतिका संवाहक पनि भएकाले उनीहरूले देखाएको र सिकाएको बाटोमा हिँडेर नै आज हामी यो अवस्थामा आइपुग्न सकेका छौँ भन्नुभयो ।
ज्येष्ठ नागरिकको उचित सम्मान र मर्यादा गर्न नसक्ने तथा उनीहरूले विगतमा हाम्रो समाज र राष्ट्रका लागि पु¥याएको योगदानलाई स्मरण र कदर गर्न नसक्ने समाजलाई सभ्य समाज मान्न नसकिने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्न र उहाँहरूको हकअधिकारलाई थप सुनिश्चित गर्न नेपाल सरकारले यस वर्षदेखि आजको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।”
विश्वमा नै दिन प्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्दछ भन्ने मान्यताका साथ नेपालको संविधानमा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको बताउनुभयो ।
ज्येष्ठ नागरिकको स्वस्थ, सम्मानित र मर्यादित जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले विभिन्न कानूनी र नीतिगत व्यवस्था कार्यान्वयनमा रहेको र समयको परिवर्तनसँगै यसलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउँदै जान आवश्यक रहेकामा प्रधानमन्त्रीले जोड दिनुभयो ।
ज्येष्ठ नागरिक हाम्रो समाजका अग्रज मात्र नभएर मार्गदर्शक व्यक्तित्व, प्रेरणाका स्रोत र गौरवका प्रतीक हुन् भन्ने वास्तविकतालाई मध्यनजर गरी जीवनको उत्तराद्र्धमा उनीहरूको पालनपोषण र संरक्षणको उचित व्यवस्था गर्नु हामी सबैको अनिवार्य कर्तव्य रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको मानवअधिकारको संरक्षण, आर्थिक र सामाजिक सुरक्षा, तथा उनीहरूका लागि सम्मानित र सुरक्षित जीवनयापन गर्न अनुकूल वातावरणको सिर्जना गर्नुपर्ने दायित्व सरकारको मात्र नभएर परिवार र समाज सबैको हो ।” यस क्रममा उपलब्ध स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै ज्येष्ठ नागरिकको जीवनलाई सुखी, सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो ।