म्याग्दीका सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा

पौस :१४ म्याग्दी मिडिया सोसाइटीले संस्थामा आवद्ध  जिल्लाका १० सञ्चारकर्मीको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ ।

एक वर्षको लागि स्वास्थ्य बीमा गरिदिएको मिडिया सोसाइटीले बीमाका लागि लाग्ने जनही नगद रु तीन हजार ५०० शुल्क तिरेर बीमा गरिएको संस्थाका सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो ।

बुधबार बेनी अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.जीतेन्द्र कँडेल, स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बराल, व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र सोसाइटीका अध्यक्ष कमल खत्रीले स्वास्थ्य बीमाको परिचयपत्र प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा दुई जनाले पहिलो पटक स्वास्थ्य बीमा गर्नुभएको हो भने ८ जनाको बीमा नवीकरण गरिएको थियो । संस्थाले विगत तीन वर्षदेखि संस्थामा आवद्ध पत्रकार र उनीहरुका घरपरिवारकोसमेत स्वास्थ्य उपचारमा सघाउन सामूहिक स्वास्थ्य बीमालाई निरन्तरता दिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

पत्रकार र उनीहरुका परिवारका सदस्य बिरामी पर्दा हुने खर्चलाई बचत गर्न र आर्थिक क्षति कम गर्न संस्थामा आवद्ध पत्रकारलाई सामूहिक स्वास्थ्य बीमा गर्न थालिएको हो, आगामी वर्षमासमेत यसलाई निरन्तरता दिने हाम्रो योजना छ’’ उहाँले भन्नुभयो ।

अस्पतालका डा कँडेलले बीमाको कारण अस्पतालमा उपचारको लागि आउने बिरामीको सङ्ख्या बढेको र सोसाइटीले सामूहिक रुपमा गरेको बीमाले यसको महत्वलाई थप व्यापक बनाउन सहयोग पुग्ने बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बीमा गराउँदा नै बीमितले पाउने सुविधाबारे स्पष्ट पार्न आग्रह गर्नुभयो ।

बोर्ड प्रमुख बरालले जिल्लामा स्वास्थ्य बीमाको प्रचारप्रसारमा सञ्चारकर्मीले रचनात्मक भूमिका खेलेको बताउनुभयो । हालसम्म नौ हजार ५४ घरधुरीका २४ हजार ६२३ बीमामा आवद्ध भएको उहाँले जानकारी दिनुभयो ।