पछिल्लो एकहप्ता यता काठमाण्डौं र आसपासमा बिजुली बत्ति छिनछिनमा जाने र आउने समस्याले उपभोक्तालाई सकसमा पारेको छ ।
यहीँ समस्या समधान बारे नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रश्न गर्दा झ्याप झ्याप बिजुली जाने समस्या चाडै समाधान हुने बताएका छन् । विद्युतको खपत बढेको कारण बेलामा बेलामा बिजुली जाने समस्या देखिएको बताउँदै उनले यसको समस्या समाधानका लागि प्राधिकरणले प्रकृया अघि बढाइसकिएको बताए ।
३८ सय ट्रान्सफर्मरमध्ये ५०/ ६० वटामा समस्या देखिएको हो, सबैमा समस्या छैन तर यस्तो समस्या आउन नदिन पनि प्राधिकरणले काठमाडौं उपत्यकामा १० ठाउँमा सबस्टेसन बनाउँदैछ,” शुक्रबारको पत्रकार सम्मेलनमा उनले भने, “लोडअनुसार हामीले ट्रान्सफर्मर फेर्ने काम गरिरहेका छौँ ।
यसले आपूर्तिमा अवश्य सहज हुन्छ । उनका अनुसार, करिब एक हजार मेगावाट बराबरको बिजुली वितरण क्षमता बढाउने गरी सबस्टेसनको निर्माणकार्य भइरहेको छ ।
बेलुकाको पिक लोड अहिले करिब १७ सय मेगावाट र बिहान १६ सय मेगावाट लोड पुगेको पनि विद्युत प्राधिकरणले जानकारी दिएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी आइसकेपछि पिक आवरको बिजुली आपूर्ति सहज भएको बताउँदै कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले बिजुलीको समस्या भने नरहेको बताए ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा झ्याप झ्याप बिजुली जान थालेपछि विद्युत प्राधिकरणको आलोचना हुँदै आएको छ ।