चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनासम्ममा साढे ६८ करोड बढीको लसुन, प्याज आयात भएको छ ।
उक्त अवधिमा ६८ करोड ५२ लाख २७ हजार रुपैयाँ बराबरको ९ हजार ७९९ टन लसुन, प्याज आयात भएको हो । लसुन, प्याज आयातबाट सरकारले १३ करोड २५ लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा ४६ करोड ७३ लाख ८६ हजार रुपैयाँ बराबरको लसुन मात्रै आयात भएको छ ।
विभागका अनुसार चीन, भारत र पाकिस्तानबाट ताजा र सुक्खा लसुन आयात भएको हो । नेपालमा ३७ करोड ४१ लाख ८४ हजार रुपैयाँ बराबरको ताजा र ९ करोड ३२ लाख २ हजार रुपैयाँ बराबरको ताजा लसुन नेपाल भित्रिएको हो ।
नेपाली बजारमा सबैभन्दा बढी चाइनीज लसुन खपत हुने गरेको विभागले जनाएको छ । चालु आवको मंसिर मसान्तसम्ममा चीनबाट मात्रै ३७ करोड ५७ लाख ६७ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो ।
यस्तै, उक्त अवधिमा भारतबाट ९ करोड १५ लाख ३६ हजार रुपैयाँ र पाकिस्तानबाट ८२ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो ।
चालु आवको पाँच महिनाको अवधिमा २१ करोड ७८ लाख ४१ हजार रुपैयाँ बराबरको ५ हजार ५५७ टन बढी प्याज आयात भएको छ । नेपालमा छिमेकी दुई मुलुक चीन, भारतबाट प्याज आयात भएको हो ।
नेपाली बजारमा भारतीय प्याजको वर्चस्व देखिएको छ । चालु आवको मंसिर मसान्तसम्ममा भारतबाट मात्रै २० करोड ८ लाख ५१ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । उक्त अवधिमा भारतबाट ५ हजार ५०६ टन बढी प्याज नेपाल आएको हो ।