कांग्रेस रुपान्तरणको सन्देश बोकेर जनतामाझ जानुपर्छ : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर आगामी निर्वाचनमा जनतामाझ जानुपर्ने बताउनुभएको छ । डा कोइरालाले आज आफू निकट नेताहरूसँग छलफल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई १ नम्बरको पार्टी बनाउन जनतामाझ जानुपर्ने बताउनुभयो ।

उहाँले आम पार्टीका कार्यकर्ताको शिर झुक्न र निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी छौँ, तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्छ भन्ने अभियानमा हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो ।

नेता डा कोइरालाले पार्टीभित्र हुने सबै कार्य न्यायसङ्गत, विधि, विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट गर्न नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । पार्टीभित्र मनोनीत गर्दा योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।