प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई अघि बढाउँदैछ : मुख्यमन्त्री नेपाली पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले खेलकुदको महत्वलाई बुझेर खेलकुद मन्त्रालय नै बनाएर यस क्षेत्रको विकासलाई अघि बढाइरहेको बताउनुभएको छ ।

आज लमजुङ बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा २९ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा उहाँले प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन चाहेको बताउनुभयो ।

प्रदेश सरकारले खेललाई अगाडि बढाउने सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको एउटा फुटबल रिसर्च सेन्टर बनाउनका लागि जग्गा लिएको र पोखरामा स्थापना गर्नका लागि फिफाबाट लगभग रु २० करोड विनियोजित भएर ठेक्कामा जान लागेको उहाँले जानकारी दिनुभयो ।

आयोजक क्लबका अध्यक्ष विनोद गुरुङले बर्सेनि यसरी नै फुटबल प्रतियोगिता सञ्चालन गर्दै जिल्लामा लुकेर रहेका दक्ष खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै राष्ट्रियस्तरका खेलाडी बनाउने कार्य गर्दै आएको बताउनुभयो । खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आए पनि गुणस्तरीय खेलकुद मैदान बनाउन आर्थिक समस्या भएकाले यसमा तीनवटै सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।