माघ १४ः राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरुलाई नेकपा एमालेले कारवाही गर्ने भएको छ ।
बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने एमाले प्रदेश १ कार्यालयले जनाएको छ ।
एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित भएका थिए । नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले पार्टीमाथि अन्तरघात गर्नेलाई कारवाही हुने बताएका छन् ।
उनले विज्ञप्तीमा भनेका छन्, पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ ।
बराललाई एमालेकै जनप्रतिनिधिहरुले मत नहाल्दा गोलाप्रथाबाट पराजित भएका हुन् । गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार बरालले समान ४४८८ मत ल्याएका थिए । गोलाप्रथाबाट गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।