बालकुमारी माईबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई नाम गोप्य राख्दै पाँच लाख पुरस्कार दिने घोषणा

माघ १७ः ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।

चोरी भएको एक हप्ता बिते पनि मूर्ति भेट्टाउन नसकेपछि बालकुमारी गुठीले विशेष सूचना निकालेर मूर्ति बारे जानकारी दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने गरेको हो ।

माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो । ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनका अनुसार विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरिएको हो ।

उनका अनुसार सुराकी दिने व्यक्तिको गोपनीयता पनि कायम गरिनेछ । चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ ।