माघ १८ः मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ।
आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।”
संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उहाँले बताउनुभयो । त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ । उहाँले भन्नुभयो, “यी कामसँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ ।”
अम्बाथान अडिटको लम्बाइ २९८ मिटर रहेको छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी-बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ । अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ । उहाँका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।