माघ १८चितवन: मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन्।
दुई ठूला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठूला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ ।
भरतपुर महानगरपालिका–१५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो । शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो ।
अस्पताल बनाउन प्रस्ताव गरिएको ठाउँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र एवं गाउँसमेत हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताउनुभयो । महानगरपालिकाको प्रयास सफल भएको भन्दै उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रमुख दाहालले भन्नुभयो,“अस्पताल बनेसँगै स्थानीयवासीको जीवनस्तर उकासिने छ । रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय फस्टाउने र स्थानीय उत्पादन खपत हुनेछ ।” यसले मेडिकल सिटीका रुपमा अघि बढेको भरतपुरको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ । आम नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन यो अस्पताल सहयोगी बन्ने उहाँ बताउनुहुन्छ ।
नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शिक्षक आन्दोलनले स्थापित गरेको शिक्षक अस्पताल चितवनमा बन्ने निर्णयले यहाँको समग्र विकास हुने बताउनुभयो । शिक्षकको छुट्टै अस्पताल हुँदै गर्दा यसबाट आम नेपालीले लाभ लिनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चितवनलाई मेडिकल हबको रुपमा विकास गर्न सहयोग पुग्छ ।” नेकपा (एमाले) का नेता रामप्रसाद न्यौपानेले भरतपुरलाई साच्चिकै मेडिकल सिटीको रुपमा विकास गर्न अस्पताल सहयोगी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ ।” यसले यहाँको स्वास्थ्य सेवालाई थप सुधार गर्दै लैजाने उहाँको भनाइ छ । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले महानगरको पहलमा जुन उपलब्धि जिल्लाले पायो यो हामी सबैका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“अन्य क्षेत्रको विकाससँगै स्वास्थ्य सेवाको विकासमा यसले थप ऊर्जा भरेको छ ।” महानगरका गाउँगाउँसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन यो सहयोगी हुने उहाँको भनाइ छ ।
नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्व शिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने छ । (राससको सहयोगमा)