‘प्रतिबन्धहरू हटे पनि स्वास्थ्य मापदण्ड पालना गर्न नछोडौँ :सहप्रवक्ता अधिकारी

माघ २४ :  सरकारले कोभिड–१९ (कोरोना भाइरस) का कारण लगाइएको विभिन्न प्रतिबन्ध हटाउँदै जनजीवनलाई थप सहज बनाएको छ ।

काठमाण्डौ उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली हटाउनुका साथै फिल्म हल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरूलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो । अहिले कोरोना भाइरसको सङ्क्रमण दर कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरू गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार कोरोनाका बिरामीहरू अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र सङ्क्रमण पुष्टि हुनेको सङ्ख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताउनुभयो । सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरूको सङ्ख्या अनुमानित ३४ लाख रहेको र तीमध्ये ३० लाख बालबालिकाहरूले खोपको पहिलो मात्रा लगाइसकेको बताउनुभयो । उहाँले यो उमेर समूहका बाँकी चार लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले कोरोना सङ्क्रमण भइ निको हुनेको सङ्ख्या बढी रहेकाले उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताउनु उल्लेख गर्नुभयो । सहप्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेला–बेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।